समाचार मतदान शान्तिपूर्ण, समस्या आए पाँच मिनेटमा नै सम्बन्धित क्षेत्रमा पुग्छौं  ः प्रहरी 
Ujyaalo

काठमाडौँ, मंसिर २१ –४५ जिल्लामा प्रतिनिधिसभा र प्रदेशसभाका लागि शान्तिपूर्णरुपमा तदान भइरहेको प्रहरीले जनाएको छ ।

नेपाल प्रहरीका प्रवक्ता मनोज न्यौपानेका अनुसार मतदान भइरहेका ठाँउमा हालसम्म कुनै पनि सुरक्षा चुनौती देखिएको  छैन ।
उहाँले भन्नुभयो, ‘प्रहरीले मजबुतरुपमा शान्ति सुरक्षा मिलाएको छ । मतदानका लागि मतदाता ढुक्क भएर लाइनमा बस्नुभएको छ । कहीँकतै समस्या आए तत्काल प्रहरी पुग्छ । कुनै समस्या छैन ।’
कहीँकतै समस्या परे तत्काल शान्ति सुरक्षाको प्रबन्ध मिलाउने गरी हेलिकप्टर समेत तयारी हालतमा राखिएको छ । चुनाव भएका जिल्लालाई हेर्ने गरी नेपाली सेना र निजी क्षेत्रका हेलिकप्टरसमेत तयारी अबस्थामा राखिएको प्रवक्ता न्यौपानेले जानकारी दिनुभयो ।

चुनावका लागि दुई लाख सुरक्षाकर्र्मी परिचालन गरिएका छन् । कहीँकतै समस्या आए र देखिए तत्काल सुरक्षा निकायमा सम्पर्क गर्न प्रहरीले आग्रह गरेको छ । प्रहरीले शान्ति सुरक्षामा समस्या आए पाँच मिनेटमा नै सम्बन्धित क्षेत्रमा पुग्ने गरी विभिन्न स्थानमा सुरक्षाकर्र्मी व्यवस्थित तवरले परिचालन गरिएको जनाएको छ ।

मतदान केन्द्रको पहिलो घेरामा नेपाल प्रहरी र म्यादी प्रहरी, दोस्रो घेरामा सशस्त्र प्रहरी बल र तेस्रो घेरामा नेपाली सेना परिचालित भएका छन् । प्रहरीले बम भनी हल्ला गरिएका शंकास्पद वस्तु अधिकांश बम नभएको समेत स्पष्ट पारेको छ ।

चुनावमा सुरक्षा निकायको हवाई र पैदल गस्ती हुने गृहसचिव मोहनकृष्ण सापकोटाले जानकारी दिनुभएको छ । दोस्रो चरणमा ४५ जिल्लामा एक करोड २२ लाख ३५ हजार ५ सय ७८ मतदाता मतदानमा सहभागी हुँदैछन् ।
–––

Share It

Post Comments
थप समाचार