समाचार संसदीय व्यवस्था कुनै पनि हालतमा खोसिँदैन: नेता पौडेल
Ujyaalo

श्यामशितल परियार/उज्यालो ।

लमजुङ, मंसिर ६ – नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले देशमा संसदीय व्यवस्था कुनै पनि हालतमा नखोसिने बताउनुभएको छ । नेपाली कांग्रेस सुन्दरबजार नगर कार्य समितिद्वारा खत्रीठाँटीमा आयोजित चुनावी आमसभालाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले वाम गठबन्धनले संसदीय गठबन्धनको विकल्प खोस्न खोजेको आरोपसमेत लगाउनुभएको छ । ‘महेन्द्रले पनि संसदीय व्यवस्था खोस्न खोजेका थिए, वामपन्थीले पनि संसदीय व्यवस्था खोस्न खोजेका छन्, यो व्यवस्था कुनै पनि हालतमा खोसिँदैन,’ नेता पौडेलले ठोकुवा गर्नुभयो ।

वरिष्ठ नेता पौडेलले बहुदल भन्ने तर मुलुकमा एकदल लागू गर्न खाज्ने कम्युनिष्टहरुसँग देश र जनताको माया नभएको बताउनुभयो । उहाँले संसदीय प्रणालीले विश्वका युरोप, जापान, भारतलगायतका मुलुकको विकास भएको भन्दै यो व्यवस्थालाई रोज्न जनतालाई आग्रह गर्नुभयो ।

नेपाली कांग्रेस गरिबी, बेरोजगारी र अभावको अन्त्य गरी मुलुकलाई स्वावलम्वी बनाउन चाहेको उहाँको भनाई छ । उहाँले संसदीय प्रणालीलाई व्यवस्थालाई व्यवास्ता गर्ने र एकदल लाद्न खोज्ने एमालेलाई जनताले धुलो चटाउने बताउनुभयो । संसारमा थोत्रो भएर फालिएको कम्युनिष्ट व्यवस्थालाई जनताले स्वीकार्न नसक्ने पौडेलले बताउनुभयो । उहाँले मुलुकका हरेक परिवर्तनको नेतृत्व कांग्रेसले गरेको भन्दै अब सम्वृद्ध राष्ट्र निर्माणको नेतृत्व पनि कांग्रेसले लिने बताउनुभयो ।

 

Share It

Post Comments
थप समाचार