समाचार कपिलवस्तुमा २१ प्रतिशत मत खस्यो, पूर्व राजदूतदेखि पूर्व माओवादी कमाण्डरले भोट हाले
Ujyaalo

कपिलवस्तु, मंसिर २१ – कपिलवस्तुमा अहिलेसम्म २१ प्रतिशत मत खसेको जिल्ला निर्वाचन कार्यालय कपिलवस्तुले जनाएको छ । कपिलवस्तुमा २३३ स्थानका ४१० मतदान केन्द्रमा मतदान भैरहेको छ । प्रतिनिधिसभातर्फ ३ र प्रदेशसभातर्फ ६ क्षेत्र रहेको कपिलवस्तुमा ३ लाख ११ हजार मतदाता रहेका छन् ।
भारतका लागि पूर्व राजदूतसमेत रहेका नेपाली कांग्रेसका नेता दीपकुमार उपाध्यायले वाणगंगा नगरपालिकाको घरगुदिया आधारभूत मावि मतदान केन्द्रबाट मतदान गर्नुभएको छ । उहाँ कपिलवस्तु क्षेत्र नम्बर १ का उम्मेदवार हुनुहुन्छ । उहाँका प्रतिस्पर्धीसमेत रहेका वाम गठबन्धनका उम्मेदवार चक्रपाणी खनाल ‘बलदेव’ ले वाणगंगा नगरपालिका –७, लक्ष्मणघाट माविबाट मतदान गर्नुभएको छ ।
त्यस्तै कपिलवस्तु क्षेत्र नम्बर २ का कांग्रेस उम्मेदवार सुरेन्द्रराज आचार्यले बुद्धभूमि नगरापालिका –३, राष्ट्रिय उच्च मावि मतदान केन्द्रबाट मतदान गर्नुभएको छ । उहाँका प्रतिस्पर्धी वाम गठबन्धनका उम्मेदवार वृजेशकुमार गुप्ताले भगवानदास मावि मतदान केन्द्रबाट मतदान गर्नुभएको छ ।
त्यस्तै कपिलवस्तु क्षेत्र नम्बर ३ का कांग्रेस उम्मेदवार अभिषेकप्रताप साहले कृष्णनगर नगरपालिकास्थित नेपाल खानेपानी संस्थान मतदान केन्द्रबाट मतदान गर्नुभएको छ । क्षेत्र नम्बर ३ कै वाम गठबन्धनका उम्मेदवार इश्वरदयाल मिश्रले रामजानकी आधारभूत माविबाट मतदान गर्नुभएको छ । त्यस्तै क्षेत्र नम्बर ३ कै संघीय समाजवादी फोरम नेपालका उम्मेदवार मंगलप्रसाद गुप्ताले कृष्णनगर नगरापालिका महेन्द्र उमावि मतदान केन्द्रबाट मतदान गर्नु भएको छ ।

Share It

Post Comments
थप समाचार