समाचार वामपन्थीको सरकार बने नेपाल ५ वर्षपछि दक्षिण एसियाकै नमुना बन्छ : पोखरेल
Ujyaalo

ओखलढुंगा, मंसिर ६ – नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले वामपन्थीले बहुमतको सरकार बनाए आउँदो पाँच वर्षपछि नेपाल दक्षिण एसियाकै नमुना देश बनाउने दाबी गर्नुभएको छ ।


बुधबार वाम गठबन्धनको चुनावी सभालाई मानेभञ्ज्यागमा सम्बोधन गर्दै महासचिव पोखरेलले सामाजिक न्यायसहित समतामुलक समाज निर्माण गर्ने, सबै नागरिकलाई निःशुल्क शिक्षा, जेष्ठ नागरिक, एकल महिला र अपांगता भएका व्यक्तिलाई जीवन यापनका लागि आवश्यक भत्ता व्यवस्था गर्ने, एक देशीय निर्भरता हटाउने र नुमना देश बनाउने दाबी गर्नुभएको हो ।


उहाँले वाम गठबन्धनका उम्मेदवाहरुलाई मत माग्दै चुनावमा जिताए संघीय सरकारमा ओखलढुंगाका जनप्रतिनिधिको प्रतिनिधित्व आफूले सुश्निचित गर्ने ठोकुवा गर्नुभयो । पोखरेलले भन्नुभयो ‘वाम गठबन्धनलाई जिताउनुहोस् ओखलढुंगाबाट यज्ञराज मन्त्री पक्का, यसको जिम्मा मैले लिन्छु ।’ सुनुवारलाई यस अघि पनि एमालेका बरिष्ठ नेता माधवकुमार नेपालले मन्त्री बनाउने उद्घोष गर्नुभएको थियो ।


वामपन्थीको सरकार बने देशमा स्थिरता आउने बताउँदै पोखरेलले वामपन्थीको सरकारले सबै नागरिकलाई गरिबीको रेखामाथि उठाउने ठोकुवा गर्नुभयो ।


दशकौं शासन गरेको कांग्रेस अहिले चुनाव हार्ने डरले वामपन्थीहरुका बिरुद्ध झुटा प्रचारमा लागेको उहाँको आरोप छ ।


महासचिव पोखरेल ओखलढुंगाका ३ ठाउँमा चुनावीसभा संवोधन तथा कार्यकर्ता भेटघाट गरेर राजधानी फर्किनु भएको छ । उहाँले खानी भञ्ज्यांगको चुनावी सभा सम्बोधनअघि रावादोलुमा कार्यकर्ता भेटखाटमा सहभागी भएर सभामा सम्बोधन गर्न आउनुभएको थियो ।

 

Share It

Post Comments
थप समाचार