समाचार अछामका महिला मतदाता भन्छन् ‘अब छाउपडी कुप्रथा हटाइदिन्या हुन् त ?
Ujyaalo

इन्द्रसरा खड्का/उज्यालो ।

अछाम, मंसिर २१ – अछामको मेल्लेख गाउँपालिका ६ का मीनादेवी खड्का महिनावारी हुँदा पहिलेदेखि नै घरमै बस्नुहुन्थ्यो । गाउँघरका अरु सबै महिला छाउपडी गोठमा बस्दा उहाँ मात्रै घरमा बस्दा गाउँलेले अनेक थरी कुरा गर्थे । उहाँको श्रीमान कुल बहादुर खड्का पनि मीनालाई सधैं घरभित्रै बस्न प्रेरित गर्नुहुन्थ्यो । तर श्रीमती घरमै बस्दा गाउँका मान्छेले नानाथरी कुरा गर्थे ।

मेल्लेख ६ कै मन्सरा देवी खड्का पनि महिनावारी हुँदा घरमै बस्नुहुन्छ । महिला स्वास्थ्य स्वयंसेविका खडका र मीना देवी जस्ता अन्य शिक्षित महिला पनि महिनावारी हुँदा घरमै बसेको थाहा पाएपछि गाउँलेले धारामा पानी पधेरो गर्दा पनि सबैले चोख्याएर पानी ल्याउनुपर्ने नियम बनाए ।

छाउपडी कुप्रथाले अझै जरो गाडेर बसेको अछाममा छाउ हुँदा घरमै बस्ने महिलालाई अहिले पनि राम्रो नजरले हेर्दैनन् । मन्सरा खड्कालाई समाजका मानिसले राम्रो नजरले नहेरेपछि अबका जनप्रतिनिधिले छाउपडी विरुद्ध काम गर्नुपर्ने बताउनुहुन्छ । छाउपडी कुप्रथा हो भन्ने सबैले बुझेका पनि छन् तर महिलाहरुले यो कुप्रथा विरुद्ध डटेर सामना गर्न सकेका छैनन् । आफूहरुले भोट हालिसकेपछि समाजमा रहेका यस्ता बिकृति बिसंगति र कुरीतिको अन्त्य गर्नुपर्ने अछामका महिलाहरु बताउँछन् ।

छाउ हुँदा घरमै बस्दा समाजबाट अपहेलित हुनुपरेका मीना देबी खड्का र मन्सरा देवी खड्काले अब यो चुनावबाट जित्ने जो कोही नेता भएपनि सबैभन्दा पहिले छाउपडी कुपथ्राको अन्त्यका लागि आवाज उठाउनुपर्ने बताउनुभयो । अछाममा विभिन्न संघसंस्थाले छाउपडी विरुद्धका कार्यक्रम चलाए पनि खासै परिवर्तन हुन सकेको छैन । छाउपडीमुक्त घोषणा भएका गाउँमा समेत अहिले पनि छाउगोठमा बस्न बाध्य छन् ।

महिलाको हक अधिकारका लागि आफूहरु प्रतिबद्ध रहेको बताउने नेताहरुले अब भाषण भन्दा काम गर्नुपर्ने अछामका महिलाहरु बताउँछन् । ‘एकै बर्षमा स्थानीय तहको चुनाव र प्रतिनिधिसभा तथा प्रदेशसभाको चुनावमा भोट हाल्यौं, अब नेताहरुले पैंचो स्वरुप छाउपडी अन्त्यका लागि पहल गर्नुपर्छ’ मन्सरा देवी खड्काले भन्नुभयो ।

अहिले पनि छाउपडीको कुरा गर्नसाथ सुदूरपश्चिम र त्यसमा पनि सबैभन्दा बढी अछामको नाम आउने भएकाले आफुहरुलाई लाजको अनुभुति हुने उहाँले बताउनुभयो । महिनावारी भएको समयमा छाउगोठमा बस्दा अछाममा थुप्रै महिलाले ज्यान गुमाई सकेका छन् भने कतिपय किशोरी बलात्कृत हुनुपरेको छ ।

Share It

Post Comments
थप समाचार