समाचार बालविवाह अन्त्य गर्ने बैतडीका उम्मेदवारको मुख्य चुनावी एजेण्डा
Ujyaalo


इन्द्रसरा खड्का/उज्यालो ।

बैतडी, मंसिर ७ – बैतडीका नेताले आफ्नो घोषणा पत्रमा बालविवाह अन्त्य गर्ने एजेण्डालाई मुख्यरुपमा समावेश गरेका छन् । बैतडीमा उमेर नपुगिक नै विवाह हुने गरेकाले त्यस्ता विकृती हटाउन चुनावको मुख्य एजेण्डा बनाइएको उम्मेदवारहरुको भनाई छ ।

बाणिज्य मन्त्री एवं लोकतान्त्रिक गठबन्धनका तर्फबाट प्रतिनिधिसभाका उम्मेदवार नरबहादुर चन्दले बालविवाह पहिलेदेखि चल्दै आएकाले विकृती हटाउन आफूहरु लागि परेको बताउनुभयो । समाजमा रहेको कुरीति, कुसंस्कार अन्त्यका लागि सबैभन्दा पहिलो पहल रहने उहाँको प्रतिबद्धता छ ।

यस्तै पूर्व अर्थराज्यमन्त्री एवं वाम गठबन्धनबाट प्रतिनिधिसभाका उम्मेदवार दामोदर भण्डारीले परम्परावादी सोचले समाजमा जरो गाडेर बसेको भन्दै यस्ता कुरीति अन्त्य गर्न आफूले पनि बालविवाह अन्त्यलाई घोषणापत्रमै समावेश गरेको बताउनुभयो । बैतडीमा उमेर नपुगेरै छोराछोरीको कन्यादान गरे स्वर्ग पुगिन्छ भन्ने गलत मान्यताले पनि यो कुरीति नहटेको बताउनुभयो । उहाँले बालविवाहकै कारण संसदमा पनि आफूले शिर निहुराउनुपरेको भन्दै बालविवाह अन्त्य गर्न सक्दो पहल गर्ने बताउनुभयो । बालविवाह अन्त्यका लागि गुणस्तरीय शिक्षाको आवश्यकता रहेकोमा उहाँको जोड छ ।

यस्तै जिल्लामा प्रचारप्रसारमा रहेका विवेकशील साझा पार्टि लगायत अन्य सानादलले पनि बालविवाह बैतडीको मुख्य समस्या रहेकाले यसको अन्त्यका लागि लागि पर्ने बताएका छन् ।

बैतडी जिल्ला सबैभन्दा बढी बालविवाह हुने जिल्ला मध्ये एक हो । अशिक्षा, गरिबी तथा धेरै बच्चा जन्माउनु बालविवाहका प्रमुख कारण रहेको संयुक्त राष्ट्रसंघीय जनसंख्या कोषका जिल्ला कार्यक्रम अधिकृत गणेश शाहीले बताउनुभयो ।

बैतडीमा बालविवाह अन्त्यका लागि विभिन्न सरकारी तथा गरैसरकारी संघसंस्थाले गरेको पहलबाट केही परिर्वतन आए पनि बालविवाह प्रथाको अन्त्य भने भएको छैन । पछिल्लो समय बालविवाह अन्त्यका लागि बैतडीका किशोरी पनि अग्रसर हुँदै गएका छन् ।

 

Share It

Post Comments
थप समाचार