समाचार अपाङ्गता भएका व्यक्तिहरु पर्यवेक्षक
Ujyaalo


नेत्र शाही/उज्यालो ।


जुम्ला, मंसिर ७ – मंसिर १० र २१ गते हुने प्रतिनिधि र प्रदेशसभा चुनावका लागि अपाङ्गता भएका व्यक्तिहरु पनि निर्वाचन पर्यवेक्षकको रुपमा परिचालन भएका छन् ।


निर्वाचन आयोग नेपालको समन्वय र आइफेस नेपालको सहयोगमा राष्ट्रिय अपाङ्ग महासंघ नेपालले ६ नं प्रदेशको जुम्ला जिल्लासहित देशका विभिन्न ७ प्रदेशमा एक/एक जिल्ला समेट्ने गरी एक सय बढी अपांगता भएका व्यक्तिहरु निर्वाचन पर्यवेक्षकको रुपमा परिचालन गरेको राष्ट्रिय अपाङ्ग महासंघ नेपालले जानकारी दिएको छ ।


महासंघले प्रदेश नम्बर १ मा संखुवासभा, प्रदेश २ मा सप्तरी, प्रदेश ३ मा सिन्धुली, प्रदेश ४ मा पर्वत, प्रदेश ५ मा बर्दिया, प्रदेश ६ मा जुम्ला र प्रदेश ७ को कैलाली जिल्लालाई छनौट गरी परिचालन गरिएको महासंघका उपाध्यक्ष तथा निर्वाचन पर्यवेक्षक संयोजक टीका दाहालले जानकारी दिनुभयो ।


अपाङ्ता भएका व्यक्तिहरुका लागि पहुँचयुक्त चुनाव र हाल सञ्चालन भइरहेको अवस्थाको बारे विभिन्न एकसय पचास केन्द्रहरुमा अपाङ्गता भएका व्यक्तिहरु र केही अभिभावकहरुले निर्वाचन पर्यवेक्षण गर्ने महासंघले जनाएको छ ।


पहिलो चरणको चुनावमा जुम्ला र संखुवासभामा उनीहरु परिचालन हुन तालिम लिई जिल्ला फर्किएको महासंघले जनाएको छ । यसैगरी जुम्लामा ११ जना अपाङ्गता भएका व्यक्तिहरु र १ जना अभिभावक निर्वाचन पर्यवेक्षकमा परिचालन भएको अपाङ्ग पुनस्र्थापन तथा विकास केन्द्रका अध्यक्ष नन्दराज धितालले जानकारी दिनुभयो ।


उहाँले नेपालको चुनाव प्रणालीमा सधै भोटको रुपमा प्रयोग गरिने तर उनीहरुको पहुँचयुक्त मतदान स्थल संरचना, वातावरणको बारेमा ध्यान नदिइएको हुँदा त्यसको अवस्थाको अवलोकन गरी सरकारलाई प्रतिवेदन दिन समेत महासंघले यो अभियान थालेको हो ।

Share It

Post Comments
थप समाचार