हारे दल बदल्नेहरु

Saturday, Nov 23, 2013 15:04 PM (4 years ago)Total Hits: 31.6 K

सेयर गर्नुहोस

काठमाडौं, मंसिर ८ – संविधानसभा निर्वाचनको नतिजा आउने क्रम अन्तिम चरणमा आइपुग्दा यसपटक सवैभन्दा धेरै झट्का एकीकृत नेकपा माओवादी र मधेस केन्द्रीत दलहरुलाई नै लाग्यो ।

धेरै चिरामा चिरिएका मधेसवादी दलहरुको हैसियत यस्तै होला भन्ने अनुमान नगरिएपनि यसअघिको हैसियत कायम नराख्ने पूर्व अनुमान गरिएको थियो । तर एकीकृत माओवादीका लागि भने यो चुनावको परिणाम अप्रत्याशित नै रह्यो ।

चुनावी परिणाम यति अप्रत्याशित रह्यो की रातारात बैठक बसेर एमाओवादीले मतगणनाका लागि खटिएका आफ्ना प्रतिनिधिलाई हठात् फिर्ता मात्रै बोलाएन हतारमा पत्रकार सम्मेलन गरेर त्यसलाई अस्वीकार गर्ने धम्की नै दियो ।

तर यसपटकको संविधानसभा निर्वाचनले दलहरुलाई मात्रै धक्का दिएन केही उम्मेदवारको अंकगणितलाई फेल बनाइदियो । चोक्टा खान गा’की बुढी झोलमा डुबेर मरी भनेजस्तै भएका दल बदलु उम्मेदवारहरु सायद अहिले पुर्पुरोमा हात लाएर बसेका छन् ।

रामचन्द्र झा, २०६४ सालको संविधानसभा निर्वाचनमा तराई मधेसमा नेकपा एमालेको झण्डा फहराउने व्यक्ति हुनुहुन्थ्यो । मधेस आन्दोलनको झोक्काले अस्तव्यस्त पारेको पार्टी संगठनलाई झाले तराईमा जोगाउँदै विजयको ध्वजा मात्रै फहराएनन् पार्टीको इज्जत समेत जोगाउनुभयो । मधेसवादी दलहरुको अनेक प्रलोभन र तत्कालीन नेकपा माओवादीको ‘दुष्प्रचार’बाट जोगिंदै आफ्नो शाखलाई जोगाएका झा यसपटकको संविधानसभा चुनाव अघि भने दलबदलुको सूचीमा थपिनुभयो ।

पार्टीले पहिचानको राजनीतिलाई स्वीकार नगरेको भन्दै लामो समयसम्म असन्तुष्टि पोखेका झा अन्ततः २०६९ चैत्र २४ गते पार्टी परिवर्तन गर्दै एकीकृत नेकपा माओवादीमा प्रवेश गर्नुभयो । यसलाई तराईमा नेकपा एमालेको जनाधार कमजोर भएका कारण चुनाव जित्न पार्टी फेरेको रुपमा अथ्र्याइएको थियो जुन चुनावका समयमा पुष्टि समेत भयो ।

एकीकृत नेकपा माओवादीका पुराना नेता जोगकुमार बखरिया यादवलाई पाखा लाउँदै झा एकीकृत नेकपा माओवादीका तर्फबाट टिकट त पाउन सफल हुनुभयो तर चुनाव जित्न सक्नुभएन । झा उठेको क्षेत्रमा नेपाली कांग्रेसका उम्मेदवार दिनेशप्रसाद परसैला विजयी हुनुभयो । झालाई हराउन उनै बखरियाको भूमिका रह्यो जो बागी उम्मेदवारका रुपमा उठ्नुभएको थियो ।

पर्साबाट चुनाव लडेकी उर्मिला अर्यालको हाल पनि झाको भन्दा खासै फरक छैन । नेकपा एमालेकी पुरानी नेतृ उर्मिला अर्याल एमालेका तर्फबाट दुई पटक मन्त्री हुनुभएको थियो । २०६३ सालमा महिला, बालबालिका तथा समाज कल्याण मन्त्री भएकी अर्याल झलनाथ खनाल नेतृत्वका सरकारमा २०६८ सालमा स्थानीय विकास मन्त्री हुनुभएको थियो । नेकपा एमालेका तर्फबाट २०४८, २०५१ र २०५६ मा गरी तीनपटक संसद सदस्यका लागि चुनाव लडेकी अर्यालले २०५६ सालमा चुनाव जित्नु पनि भएको थियो ।

यसपटकको चुनावमा पर्सा क्षेत्र नम्बर २ बाट उम्मेदवारी अपेक्षा गरेकी अर्याललाई पार्टीले सो क्षेत्रबाट टिकट दिने टुंगो नभएपछि उहाँले पनि सजिलो बाटो रोज्नुभयो दल बदल्ने । रामचन्द्र झासँगै २०७० जेठ ४ गते एकीकृत नेकपा माओवादीको अविर लगाएकी अर्यालले केन्द्रीय सदस्य मात्रै पाउनुभएन अपेक्षा अनुसार टिकट पनि पाउनुभयो । संविधानसभा सदस्यको टिकट पाएपनि उहाँको पनि हात लाग्यो पराजयको प्रमाणपत्र ।

नेकपा एमाले छोडेका रकम चेम्जोङको हाल पनि यस्तै छ । नेकपा एमालेमा राम्रै अवसर पाएका चेम्जोङ झलनाथ खनाल नेतृत्वको सरकारमा शान्ति मन्त्री हुनुहुन्थ्यो । नेकपा एमालेबाट अशोक राईको नेतृत्वमा बाहिरिदा चेम्जोङलाई वर्गिय मुद्दा छोडेर जातीय राजनीतिमा लागेको आरोप लागेको थियो । नेकपा एमालेको जनाधार कमजोर आँकेर पार्टी छोडेको भनिएका चेम्जोङलाई यसपटकको चुनावमा सोही पार्टीका टीकाराम चेम्जोङले हराउनुभयो । संघीय समाजवादी पार्टीका तर्फबाट चुनाव लडेका रकम चेम्जोङ तेश्रो हुनुभयो ।

महोत्तरीका पुराना कांग्रेस नेता रजीद हैदरको अवस्था पनि उस्तै छ । नेपाली कांग्रेसका तर्फबाट टिकट नपाएको झोंकमा दल बदल्दै उम्मेदवारी दर्ता गर्ने अघिल्लो दिन एकीकृत नेकपा माओवादीमा प्रवेश गरेका हैदरले भोलीपल्टै टिकट पाएपनि चुनाव भनें जित्न सक्नुभएन । यसपटकको संविधानसभा निर्वाचनको परिणाम जसरी एकीकृत नेकपा माओवादीका लागि अप्रत्याशित रह्यो, सहज विजयको अपेक्षा गर्दै बर्षौं काम गरेको पार्टी छोडेर गएकाहरुका लागि पनि कम अप्रत्याशित रहेन ।

प्रतिक्रियाहरु

थप खबरहरु

सहभागी हुनुहोस्

Submit Report

आफ्ना कुरा भन्न माथिको फेसबुक, ट्वीटर, एसएमएस अथवा आईभीआरको संकेत चिन्हमा क्लिक गर्नुहोस् ।

परदेशीको आवाज

सबै हेर्नुहोस्

जनमत

Loading...

तस्वीर ग्यालरी सबै हेर्नुहोस्

हाम्रो फेसबुक पेज