जितेर पनि हर्ष बढाईं गर्न नपाउँदा

Saturday, Nov 23, 2013 16:04 PM (4 years ago)Total Hits: 32.1 K

सेयर गर्नुहोस

काठमाडौं, मंसिर ८ - संविधानसभा निर्वाचनको प्रारम्भिक मतगणना सार्वजनिक भएलगत्तै निर्वाचन बहिस्कारको घोषणा गरेको एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्ड सिरहा क्षेत्र नम्बर ५ मा र एमाओवादीका बाबुराम भट्टराई गोरखाबाट विजयी हुनुभयो ।

तर उहाँहरु जितको खुसी मनाउन नआएका कारण त्यसले गोरखा र सिरहाका माओवादी कार्यकर्तामा उति उत्साह ल्याउन सकेन । 

विजयी उम्मेद्वारलाई निर्वाचन आयोगले प्रमाणपत्र दिने चलन भएपनि गोरखाका तीनै क्षेत्रबाट विजयी भएका एमाओवादीका उम्मेदवारहरु प्रमाणपत्र लिन गएका छैनन् । पुष्पकमल दाहाल, प्रचण्ड जितको प्रमाण पत्र लिन सिरहा जानु भएको छैन र जाने छाँटकाँट पनि छैन । महोत्तरी १ बाट विजयी एमाओवादी नेता गिरिराजमणी पोखरेलले पनि अहिलेसम्म प्रमाण पत्र बुझ्नु भएको छैन । तर उहाँलाई कार्यकर्ताले जितको खुसीमा अवीर लगाइिदएका छन् । उहाँलाई नेपाली कांग्रेसका उम्मेदबार चिरञ्जीवि हमालले बिहान महोत्तरीको गौरीवास १ मा रहेको पोखरेलकै निवास आधारशिलामा पुगेर बधाई दिनुभयो । बधाई दिन आएका हमाललाई एमाओवादीका नेता कार्यकर्ताहरुले अबिर र माला लगाएर स्वागत गरे । तर अन्यत्र भने जितेका एमाओवादी नेताले समेत खुसी मनाएका छैनन् ।

गोरखा क्षेत्र नम्वर २ का निर्वाचन अधिकृत कोमलप्रसाद आचार्यले निर्वाचित एमाओवादीका हितराज पाण्डेलाई विजयी भएको औपचारिक जानकारी नगराए पनि उहाँले आफू विजयी भएको जानकारी पाएको बताउनुभयो । “हामीले फोन गरि गरि प्रमाणपत्र लिन बोलाउने होइन, हामीले जिल्लामा औपचारिक घोषणा गरिसकेका छौं, उहाँहरुलाई पनि विजयी भएको खबर पुगिसकेको छ, त्यसैले उहाँहरु आउनुहोला भन्ने विश्वास छ” आचार्यले भन्नुभयो ।

जिल्लामा सबै निर्वाचन अधिकृतको कार्यालय अझै १५ दिनसम्म रहने भएकाले उहाँहरु प्रमाणपत्र लिन आउनुहुन्छ भन्ने लागेको उहाँले बताउनुभयो । १५ दिनसम्म पनि नआए निर्वाचन आयोगले जे भन्छ, त्यही गर्ने निर्वाचन अधिकृत आचार्यले बताउनुभयो । 

क्षेत्र नम्बर १ बाट विजयी बाबुराम भट्टराई मतदातालाई धन्यवाद दिन मंसिर ११ गते गोरखा आउन लागेको क्षेत्र नम्वर १ का एमाओवादी संयोजक यानप्रसाद भट्टले जानकारी दिनुभयो । “उहाँ खासमा मतदातासँगको भेटघाटमा आउन लाग्नुभएको हो, प्रमाणपत्र लिने नलिने कुरा थाहा छैन तर हामीले लिनुपर्छ भनिरहेका छौं” उहाँले उज्यालो अनलाइनसँग भन्नुभयो । २०६४ सालको संविधानसभा चुनावमा गोरखाका ३ वटै क्षेत्रमा जितेको एमाओवादीले त्यतिबेला भनें विशाल विजय जुलुश निकालेको थियो ।  सिरहा ५ बाट विजयी एमाओवादीका अध्यक्ष प्रचण्ड प्रमाण पत्र लिनु नगएपनि निर्वाचन अधिकृतको कार्यालयले मत सार्वजनिक गर्दा एमाओवादीका जिल्लास्तरका नेताहरुले तालि बजाएर त्यसको स्वागत गरेका थिए भने जिल्लाका कार्याकर्ताहरुले सिरहा बजारमा जुलश निकालेका थिए । शनिवार दिउँसो क्षेत्र नम्बर ५ का गाउँ गाउँमा प्रचण्डको जितमा विजयी र्याली भइरहेको छ । सिरहाका माओवादी कार्यकर्ताले आफूहरुले आफूहरुको मेहनतको फल स्वरुप चुनाव जितेका कारण खुसीयाल मनाउने भन्दै र्याली गरिरहँदा विजयी उम्मेदवारले भनें त्यसमा सहभागिता जनाउनु भएन । 

गोरखा र सिरहामा मात्रै होइन वर्दियामा पनि एकमाओवादीम जितको खुसी छैन । बर्दियाको क्षेत्र नम्बर ३ र ४ मा एमाओवादीका उम्मेदवार विजयी भएपनि कुनै हर्ष बढाईं गरिएन । देशभरिका विभिन्न क्षेत्रमा धाँधली भएका कारण केन्द्रिय निर्णयकै कारण बर्दियामा पनि कुनै कार्यक्रम आयोजना नगरिएको एमाओवादी, बर्दियाका जिल्ला ईन्चार्ज विष्णु थारुले जानकारी दिनुभयो । 

गोरखाबाट किरण लोहनी, वर्दियाबाट भावुक योगी र सर्लाहीबाट आशिष विश्वकर्माको सहयोगमा
तस्बिर  : जनर्दन पोखरेल/उज्यालो 

प्रतिक्रियाहरु

थप खबरहरु

सहभागी हुनुहोस्

Submit Report

आफ्ना कुरा भन्न माथिको फेसबुक, ट्वीटर, एसएमएस अथवा आईभीआरको संकेत चिन्हमा क्लिक गर्नुहोस् ।

परदेशीको आवाज

सबै हेर्नुहोस्

जनमत

Loading...

तस्वीर ग्यालरी सबै हेर्नुहोस्

हाम्रो फेसबुक पेज