जसले चुनावमा चर्चा पाए, भोट पाएनन्

Saturday, Nov 23, 2013 16:17 PM (4 years ago)Total Hits: 19.0 K

सेयर गर्नुहोस

काठमाडौं, मंसिर ८ – बाग्लुङका पदम कुँवरको चर्चा एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्डलाई भृकुटीमण्डपमा थप्पड हान्दा जति भयो यसपालीको चुनावमा प्रचण्ड उठेकै काठमाडौं क्षेत्र नम्वर १० बाट उम्मेदवारी दिदा कम भएन ।

कुँवरको छोटो भिडियो सन्देशदेखि घरदैलोसम्मका कुरा चर्चामै रहे । यसपटकको चुनावमा कुँवर जस्तै चर्चामा अरु पनि केही उम्मेदवार थिए । नेपाली कांग्रेस, चितवनका पूर्व सभापति विकास कोइराला अर्का पात्र हुन् जसको चर्चा कुँवरको भन्दा कम थिएन ।  

चितवन ४ नेपाली कांग्रेसका केन्द्रीय सभापति सुशील कोइरालाको उम्मेदवारीले भन्दा धेरै उहाँलाई हराउन भन्दै उम्मेदवारी दिएका विकास कोइरालाका कारण चर्चामा थियो । चुनाव अघि धेरैले विकास कोइरालाको असन्तुष्टिको मूल्य कांग्रेस सभापति सुशील कोइरालाले चुकाउनु पर्ने अनुमान गरेका थिए । चितवनमा दुई कोइरालाको चर्चा जति थियो काठमाडौं ४ मा दुई कांग्रेसको भिडन्तको लख काट्नेहरु कम थिएनन् ।

काठमाडौं ४ मा नेपाली कांग्रेसका युवा नेता गगन थापाले पार्टीका तर्फबाट टिकट पाएपछि त्यसको विरोधमा उत्रिनुभयो त्यही क्षेत्रबाट यसअघि चुनाव जितेकी पुरानी नेतृ सुप्रभा घिमिरे । पुरानी तथा महिला उम्मेदवार भएका कारण घिमिरेले थापालाई राम्रै क्षति पुर्‍याउन सक्ने अनुमान गरिएपनि अन्ततः त्यसो भएन । कुँवर, कोइराला र घिमिरेले चर्चा त पाए, मत पाएनन् ।  

काठमाडौं क्षेत्र नम्बर १० बाट प्रत्यक्षमा उठेका पदम कुँवरको ३८ भोट आयो भने काठमाडौ क्षेत्र नम्वर ४ बाट गगन थापालाई चुनौती दिन उठेकी सुप्रभा घिमिरेले ९२ मत पाउनुभयो । यस्तै चितवन क्षेत्र नम्वर ४ मा कांग्रेस सभापति सुशील कोइराला विरुद्ध बागी उम्मेदवारी दिएका नेपाली कांग्रेस, चितवनका पूर्व जिल्ला सभापति विकास कोइरालाले १ हजार ८३ मत प्राप्त गरेपनि केन्द्रीय सभापति सुशील कोइरालालाई हराउन त्यो काफी भएन ।

सुशील कोइराला सो क्षेत्रमा २० हजार ७ सय ६० मत ल्याएर विजयी हुनुभयो । काठमाडौं क्षेत्र नम्बर ४ मा गगन थापाले २२ हजार ३ सय ३६ मत प्राप्त गर्दा थापा विरुद्ध उम्मेदवारी दिएकी सुप्रभा घिमिरेको ९२ मत मात्रै आयो ।

चर्चामा आउनेमा बागी उठेका मात्रै होइनन् एमालेका प्रभावशाली नेता केपी ओलीले उम्मेदवारी दिएकै झापा क्षेत्र नम्वर ७ मा उम्मेदवारी दिन पुगेका एकीकृत नेकपा माओवादीका गोपाल किराती पनि पर्नुहुन्छ । किराँतीले राज्य पुनसंरचनाको विषयमा सार्वजनिक गरेको धारणा चुनाव लड्नु अघिदेखि नै चर्चामा थियो ।

पार्टीमा साइँला उपनामले चिनिने किराँतीलाई चुनावी परिणाममा चौथो भएपछि झापामा काईंलो भन्न थालिएको छ । नेकपा एमालेका नेता केपी शर्मा ओलीले १९ हजार २ सय ८७ मत ल्याएर विजयी भएको सो क्षेत्रमा किराँतीले ८ हजार ८ सय २ मत प्राप्त गर्नुभयो । दोश्रो स्थानमा नेपाली कांग्रेस रहेको थियो भनें तेश्रो राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार रहन सफल भएको थियो । कुँवर, घिमिरे, कोइराला र किराँतीले चुनाव अघि जति चर्चा पाए, मत भनें त्यस अनुरुप पाउन सकेनन् ।

प्रतिक्रियाहरु

थप खबरहरु

सहभागी हुनुहोस्

Submit Report

आफ्ना कुरा भन्न माथिको फेसबुक, ट्वीटर, एसएमएस अथवा आईभीआरको संकेत चिन्हमा क्लिक गर्नुहोस् ।

परदेशीको आवाज

सबै हेर्नुहोस्

जनमत

Loading...

तस्वीर ग्यालरी सबै हेर्नुहोस्

हाम्रो फेसबुक पेज