एउटा अन्योल सकियो, फेरि अर्को सुरु

Monday, Nov 25, 2013 10:46 AM (4 years ago)Total Hits: 12.8 K

सेयर गर्नुहोस

मिलन तिमिल्सिना

मंसिर ४ गते विहान मतदान सुरु हुने बेलासम्म पनि चुनाव कसरी सम्पन्न होला भन्ने अन्योल थियो । ‘अज्ञात समूह’को नाममा ठाउँठाउँमा राखिएका शंकास्पद वस्तु र बम आतंकले मतदाता ढुक्कसँग मतदान केन्द्रसम्म पुग्छन् भन्नेमा दल र उम्मेदवार नै त्यति विश्वस्त थिएनन् ।

तर डर, त्रास र अवरोधलाई छिचोल्दै मतदाता बेलैमा मतदान केन्द्र पुगे । ढुक्कसँग मतदान गरे । इतिहासमै सबैभन्दा धेरै ७० प्रतिशत मत खस्यो । अघिल्लो चुनावमा जस्तै धेरैले अनुमान गरेको भन्दा फरक नतिजा आयो ।

पहिलो संविधानसभा चुनावमा बढारिएका कांग्रेस–एमाले यसपाली पुरानै हैसियत फर्किएका छन् । उबेला फुकेको एकीकृत नेकपा माओवादी अहिले सुकेर ख्याउटे जस्तो भएको छ । मडारिएर आएका मधेसवादी दल एमाओवादी जस्तै गरी बढारिएका छन् । पहिलो संविधानसभा चुनावको बेला प्रचार गर्न समेत आँट गर्न नसक्ने राप्रपा नेपाल एकीकृत माओवादीपछिको स्थान लिने हैसियतमा पुग्न लागेको छ ।

यी सबै फेरबदलसँगै चुनावपछि गठन हुने सरकार र संविधान निर्माणको काममा अर्को अन्योल सिर्जना गरेको छ । चुनावमा धाँधली भयो भन्दै मुन्टो बटार्न थालेको एकीकृत नेकपा माओवादी, चुनाव बहिष्कार गरेर अहिले चुपचाप रहेको नेकपा–माओवादी र एमाओवादीले जस्तै प्रतिकृया दिइरहेका मधेसवादी दलका कारण पनि यो अन्योललाई मलजल पुगेको छ ।

कस्तो बन्ला सरकार ?

चुनावी परिणाम हेर्दा नेपाली कांग्रेस र नेकपा एमाले मिलेमा दुई तिहाई बहुमत पुग्छ । कांग्रेसको एकसय ५ र एमालेको ९१ ले एकसय ९६ सिट हुन्छ । समानुपातिकतर्फ पनि दुवै दलले अग्रता लिएकाले दुई तिहाई पुग्ने स्पष्ट देखिएको छ ।

तर सरकार गठनको लागि समीकरण कांग्रेस र एमालेको मात्र होइन । कांग्रेस र एमाओवादी या एमाले र एमाओवादी मिलेर पनि सरकार बन्न सक्छ । दुई ठूला दल कांग्रेस र एमालेले अरु साना दललाई साथमा लिएर पनि सरकार बनाउन सक्ने स्थिति छ ।

पहिलो संविधानसभा बिघटनपछि दुई कित्तामा बाँडिएका दलहरु फेरि त्यही कित्तामा देखिए भने सरकार गठन र बिघटनको खेल दोहोरिने निश्चित छ । जसले एक वर्षभित्र संविधान निर्माण गर्ने दलहरुको प्रतिबद्धतालाई अवरोध पुर्याउँछ । एकीकृत नेकपा माओवादी नेतृत्वको संघीय गणतान्त्रिक गठबन्धन र कांग्रेस–एमालेको लोकतान्त्रिक गठबन्धन अहिले निष्क्रिय छ ।

दुवै गठबन्धन सक्रिय भएमा अहिले अर्को शक्तिको रुपमा उदाएको राप्रपा नेपाल कतातिर ढल्कन्छ भन्ने प्रश्न छ । तर उ जता ढल्केपनि खासै फरक पर्ने अवस्था छैन । किनकी राप्रपा नेपाल एमाओवादी गठबन्धनमा लागेपनि यसले कांग्रेस–एमालेको दुई तिहाई समीकरणलाई रोक्न सक्दैन । अनि उ कांग्रेस–एमाले गठबन्धनमा मिसिए त्यसले थोरै बल मात्रै पुर्‍याउने हो ।

तर सरकारको समिकरणसँगै नेतृत्व कसले लिने भन्ने विवाद पनि सँगै बढ्ने देखिएको छ । कांग्रेसले सरकारको नेतृत्व गरेमा पार्टी सभापति सुशील कोइराला, उपसभापति रामचन्द्र पौडेल र नेता शेरबहादुर देउवाबीच हानथाप देखिने पक्का छ ।

एमालेले नेतृत्व लिएमा पनि अध्यक्ष झलनाथ खनाल, वरिष्ठ नेता माधवकुमार नेपाल र अर्का नेता केपी शर्मा ओलीबीच पनि जुँगाको लडाईं हुने देखिन्छ । तर कांग्रेसमा कोइराला र एमालेमा नेपाल अरुको लागि पनि केही सर्वमान्य नेताको रुपमा लिइन्छ ।

सरकार गठन र संविधान निर्माण

कांग्रेस र एमाले मिलेमा दुई तिहाई बहुमतको स्थिर सरकार गठन हुन्छ । यसले सरकार टिकाउन त सहज हुन्छ । तर संविधान निर्माणमा भने असहज अवस्था आउने पक्का छ । चुनावी परिणामसँगै खुम्चिएका एमाओवादी र मधेसवादी लगायतका शक्तिलाई कांग्रेस–एमालेको दुई तिहाईले अहिलेदेखि नै झस्काउन थालिसकेको छ ।

सरकार गठनसँगै संविधान निर्माणमा पनि कांग्रेस–एमालेले दुई तिहाई बहुमतको बल देखाउन थाले भने एमाओवादी र मधेसवादी दललाई थप चिढ्याउने छ । उनीहरुको अवरोधले संविधान निर्माणको बहुमतीय पहल सफल नहुन सक्छ ।

मत परिणाम कांग्रेस–एमालेको पक्षमा देखिएपनि संविधान निर्माणको लागि एमाओवादी र मधेसवादी दलको भूमिका निकै महत्वपूर्ण हुन्छ । कांग्रेस–एमालेले उनीहरुको भावनालाई समेट्न नसक्दासम्म संविधान निर्माणको बाटो असहज हुनेछ ।

संविधान निर्माणको क्रममा एमाओवादी र मधेसवादी दलको भावना समेट्न उनीहरुलाई पनि सरकारमा ल्याउनुपर्ने हुन्छ । कांग्रेस–एमालेको अबको भूमिकाले सरकार गठन र संविधान निर्माणको बाटो कस्तो हुन्छ भन्ने निर्धारण गर्नेछ ।

प्रतिक्रियाहरु

थप खबरहरु

सहभागी हुनुहोस्

Submit Report

आफ्ना कुरा भन्न माथिको फेसबुक, ट्वीटर, एसएमएस अथवा आईभीआरको संकेत चिन्हमा क्लिक गर्नुहोस् ।

परदेशीको आवाज

सबै हेर्नुहोस्

जनमत

Loading...

तस्वीर ग्यालरी सबै हेर्नुहोस्

हाम्रो फेसबुक पेज