राजनीतिक दल
नेपाली कांग्रेस राष्ट्रियता, लोकतन्त्र र समाजवाद

वि.स. २००६ सालमा नेपाली राष्ट्रिय कांग्रेस र नेपाल प्रजातान्त्रिक कांग्रेसको एकीकरणबाट नेपाली कांग्रेस जन्मिएको हो । नेपालमा राष्ट्रियताको संरक्षण र सम्वद्र्धन गर्दै प्रजातान्त्रिक समाजवाद स्थापना गर्ने नेपाली कांग्रेसको मुख्य उद्देश्य हो । दोस्रो संविधानसभा चुनावमा पहिलो पार्टी भएको नेपाली कांग्रेस स्थानीय तह चुनावमा भने दोस्रो पार्टी भएको छ । २०७० सालमा भएको दोस्रो संविधानसभा चुनावमा प्रत्यक्षतर्फ १ सय ५ र समानुपातिकमा ९१ गरि कुल १ सय ९६ सिट जितेको थियो ।

कांग्रेसले प्रत्यक्षतर्फ २९.८० र समानुपातिकमा २५.५५ प्रतिशत मत ल्याएको थियो । यसअघि २०६४ सालमा भएको संविधानसभा चुनावमा नेपाली कांग्रेसले प्रत्यक्षतर्फ ३७ र समानुपातिकतर्फ ७३ गरी ६ सय १ सिटमा जम्मा १ सय १० सिट जितेर दोस्रो ठूलो राजनीतिक दल भएको थियो । उसले समानुपातिकतर्फ खसेको कुल मतको २१.१४ प्रतिशत र प्रत्यक्षतर्फ २२.७९ प्रतिशत मत पाएको थियो । दोस्रो संविधानसभाबाट पहिलो दल बनेको नेपाली कांग्रेसको नेतृत्वमा रहेको सरकारले नेपालमा संविधान जारी गरेको हो ।

संविधान जारी अघि र पछि गरेर नेपाली कांग्रेसले दुईपटक सरकारको नेतृत्व गरेको छ । तत्कालीन सभापति सुशील कोइराला नेतृत्वको सरकारले संविधान जारी गरेको कांग्रेस अहिले सभापति शेरबहादुर देउवाको नेतृत्वमा सरकारमा रहेको छ । ०७२ सालमा पार्टी सभापति देउवा चौथो पटक नेपालको प्रधानमन्त्री बन्नुभएको हो ।

प्रतिनिधि र प्रदेशसभा चुनावको मुखैमा कांग्रेसले आफ्नो विचार मिल्ने पार्टीसँग तालमेल गरेको छ । कांग्रेस छाडेर फोरम लोकतान्त्रिक गठन गरेका विजयकुमार गच्छदार पनि अहिले पुरानो पार्टी कांग्रेसमा नै फर्केका छन् । वर्तमान अवस्थामा राष्ट्रियता, लोकतन्त्र, समाजवादको आदर्श एवं सिद्धान्त अनुरुप संघीय लोकतन्त्रात्मक राज्य, बहुलवादमा आधारित बहुदलीय व्यवस्था, तथा संसदीय शासन प्रणालीको माध्यमबाट नेपालमा न्यायपूर्ण, गतिशील र शान्तिपूर्ण समाजको निर्माण गरी सामाजिक, राजनीतिक तथा आर्थिक विकास गर्ने उद्देश्य बोकेको नेपाली कांग्रेस सबैभन्दा पुरानो राजनीतिक दल हो । नेपालमा भएका हरेक परिवर्तनको नेतृत्व गरेको नेपालको पुरानो प्रजातान्त्रिक पार्टी नेपाली कांग्रेसले बिपीले लिएकोे मेलमिलापको सिद्धान्तलाई आफ्नो आर्दशको रुपमा लिने गर्दछ ।

सभापति : शेरबहादुर देउवा

मुख्यालय : सानेपा, ललितपुर

आदर्श : राष्ट्रियता, लोकतन्त्र र समाजवाद

Website : http://www.nepalicongress.org/

Facebook Page: https://www.facebook.com/nepalicongresshq/

नेपाली कांग्रेसको घोषणपत्र :

 

थप राजनीतिक दल