राजनीतिक दल
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) मार्क्सवाद–लेनिनवाद–माओवाद

दश वर्षे युद्धबाट शान्ति प्रक्रिया हुँदै राजनीतिमा आएको माओवादी ०६४ सालको पहिलो संविधानसभा चुनावमा पहिलो पार्टी भयो । पहिलो संविधानसभा चुनावमा माओवादीले प्रत्यक्षतर्फ १ सय २० र समानुपातिकतर्फ एकसय गरी कुल २ सय २० सिट जितेको थियो । त्योबेला पहिलो पार्टी भएको माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड ०६५ सालमा गणतान्त्रिक नेपालको पहिलो प्रधानमन्त्री हुनुभयो । ठूलो पार्टी भएर पनि माओवादीले संविधान निर्माण कार्यमा महत्वपूर्ण भूमिका निर्वाह गर्न सकेन ।

आफ्नै नेतृत्वको सरकारलाई टिकाउन नसकेर प्रचण्डले ०६६ सालमा प्रधानमन्त्रीबाट राजीनामा दिनुभयो । त्यसपछि माओवादी उपाध्यक्ष डा. बाबुराम भट्टराई गणतन्त्र नेपालको चौथो प्रधानमन्त्री बन्नुभयो । भट्टराई नेतृत्वको सरकारले पहिलो संविधानसभा विघटन गरेर चुनावी सरकारका लागि बाटो खुल्ला गर्यो । ०७० सालमा भएको दोस्रो संविधानसभा चुनावमा माओवादी केन्द्र तेस्रो राजनीतिक दल बन्यो । २०६९ सालमा तत्कालीन वरिष्ठ उपाध्यक्ष मोहन वैद्य किरणको नेतृत्वमा पार्टी फुटेपछि पार्टीले अप्रत्यासित हार बेहोरेको माओवादी वृतमा बहस चल्यो । प्रत्यक्षतर्फ २६ र समानुपातिकमा ५४ सिट गरी कुल ८० सिट जितेको माओवादीले प्रत्यक्षमा १७.७९ र समानुपातिकमा १५.२१ प्रतिशत मत ल्याएको थियो । दोस्रो संविधानसभाबाट संविधान बन्ने कुरामा माओवादीले महत्वपूर्ण भूमिका निर्वाह गर्यो ।

संविधान घोषणासँगै माओवादीको फुटको श्रृंखला जारी रह्यो । ०७२ सालमै उपाध्यक्ष डा. बाबुराम भट्टराईले माओवादी छाडेर नयाँ शक्ति पार्टी गठन गर्नुभयो । तेस्रो पार्टी माओवादी सुशील कोइराला, केपी ओली शर्मा नेतृत्वको सरकारमा सहभागी बन्यो । आफ्नै समर्थनमा बनेको ओली नेतृत्वको सरकारकाविरुद्ध अविश्वासको प्रस्ताव लगेर माओवादी अध्यक्ष प्रचण्ड कांग्रेसको समर्थनमा दोस्रो पटक प्रधानमन्त्री बन्नुभयो । स्थानीय तहको चुनावको घोषणा र पहिलो चरण चुनाव सम्पन्न गराउनु प्रचण्ड नेतृत्व सरकारको मुख्य उपलब्धी मान्न सकिन्छ । तीन चरणमा भएको स्थानीय तह चुनावमा पनि माओवादी केन्द्र तेस्रो स्थानमा नै रह्यो । माओवादीले १ सय ६ स्थानीय तहमा जित्यो । प्रदेश र प्रतिनिधिसभा चुनावमा माओवादीले नेकपा एमालेसँग चुनावी तालमेल गरेको छ । मार्क्सवाद, लेनिनवाद र माओवादलाई आफ्नो मार्ग निर्देशक सिद्धान्त मान्ने यो पार्टी (२०६५ सम्म नेकपा माओवादी) को गठन २०५१ सालमा भएको हो ।

नामका हिसाबले ०५१ सालमा गठन भएपनि यो २००६ सालमा स्थापना भएको नेपाल कम्यूनिष्ट पार्र्टीको एउटा धार हो । नेपाली कम्युनिष्ट आन्दोलनमा भएको टुटफूट र विभाजनको श्रृंखलाका रुपमा यो पार्र्टीको जन्म भएको पाईन्छ । यसको लक्ष्य नेपालमा समाजवाद र साम्यवाद स्थापना गर्नु हो । सशस्त्र युद्धका क्रममा यो पार्टी मार्ग निर्देशक सिद्धान्तमा प्रचण्डपथ थपे पनि ०६५ सालमा नेकपा एकताकेन्द्र मसालसँगको एकतासँगै प्रचण्डपथ हटायो ।

आफ्नो लक्ष्य पुरा गर्नका लागि दीर्घकालीन जनयुद्धको फौजी रणनीति अनुसार ०५२ साल फागुन १ गतेदेखि छापामार युद्ध सुरु गरेको यो पार्टीले एक दशकसम्म सशस्त्र युद्ध लड्यो । तर युद्धमा जित न हार भएको निष्कर्षका साथ यो पार्टी शान्ति प्रक्रियामा आयो । २०६५ सालमा नेकपा माओवादी र नेकपा एकताकेन्द्रबीचको एकतापछि पार्टीको नाम एकीकृत नेकपा माओवादी राखियो । विभिन्न साना दलसँगको एकता भएपछि ०७२ सालमा पार्टीको नाम परिवर्तन गरेर माओवादी केन्द्र राखिएको छ । पछिल्लो समय गणेश साहको नेतृत्वमा रहेको नेकपा संयुक्त र माओवादी केन्द्रबीच पार्टी एकता भएको थियो । प्रदेश र प्रतिनिधिसभा चुनावको लागि तालमेलसँगै एमाले र माओवादी केन्द्रले चुनावपछि पार्टी एकताको सम्झौतामा हस्ताक्षर गरेका छन् ।

अध्यक्ष : पुष्पकमल दाहाल प्रचण्ड

मुख्यालय : पेरिसडाँडा कोटेश्वर, काठमाडौं,

मार्गनिर्देशक सिद्धान्त : मार्क्सवाद–लेनिनवाद–माओवाद

वाम गठबन्धनको घोषणापत्र :

थप राजनीतिक दल